कोरलानाकाबाट ७५ कन्टेनर फलफूल नेपाल भित्रिए

 गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट पैठारी गर्ने तयारी गरिएको फलफूलजन्य मालवस्तु डाईभर्ट गरी कोरलानाकाबाट पैठारी गरिएको छ ।

 नेपाल—चीन उत्तरी कोरलानाका हुँदै पहिलो पटक मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भई चीनियाँ फलफूलजन्य मालवस्तु भदौ १० पछि नेपाल भित्र्याईएको हो । रसुवागढी—केरुङ नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि आईतबारसम्म केरुङ नाकाबाट डाईभर्ट गरिएका ७५ कन्टेनर चिनियाँ फलफूल कोरलानाकाबाट नेपाल भित्रिएको लोमान्थाङ—४ न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयले जानकारी दिएको छ । 

हालसम्म कोरलानाकाबाट केरुङबाट डाईभर्ट भई आएका फलफूल बाहेक अन्य नयाँ फलफूललाई ईन्ट्री परमिट जारी भईनसकेको कोरलानाका स्थित क्वारेन्टाईन कार्यालयले जनाएको छ । क्वारेन्टाईन कार्यालयका प्रमुख एवं बाली संरक्षण अधिकृत रोशन कुमार यादवका अनुसार केरुङ नाकाबाट भित्रिने फलफूलजन्य मालवस्तुको कोरलानाकाबाट डाईभर्ट भईरहेको र उक्त कार्य नसकिएसम्म कोरलानाकाबाट नयाँ ईन्ट्री परमिट जारी नगरिने केन्द्रको निर्देशन रहेको बताउँनुभयो । 

‘पहिलो केरुङ नाकाबाट डाईभर्ट भएका फलफूलहरुको कोरलानाकाबाट ल्याउने काम सक्छौ, त्यसपछि मात्रै नयाँ ईन्ट्री परमिट जारी गर्ने केन्द्रको निर्देशन छ,’प्रमुख यादवले भन्नुभयो ।’ लोमान्थाङ—४ स्थित क्वारेन्टाईन कार्यालय अनुसार भदौपछि  आईतबारसम्म केरुङ नाकाबाट डाईभर्ट भएका नौ थरिका  ८६३ दशमलव ०५ मेट्रिक टन फलफूल नेपाल भित्रिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । नेपाल भित्रिएका फलफूलहरुको कार्यालयबाट क्वारेन्टाईन जाँच गरिएको प्रमुख यादवको भनाई छ ।

 कार्यालयका अनुसार केरुङ नाकाबाट मार्ग परिवर्तन (डाईभर्ट) भई कोरलानाकाबाट भित्रिएका फलफूल मध्ये ४० प्रतिशत स्याउ र ६० प्रतिशत अन्य फलफूल रहेका प्रमुख यादवले बताउँनुभयो । उहाँका अनुसार ड्रागन फुट (१८.४५) टन,आँप (२५.०९) टन, किसमिस (३२) टन ,बोक्रा सहितको ओखर (२१५)टन ,ओखरको गुदी (५२) टन, अंगुर (२६.१०) टन, किवी (०९)टन फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको प्रमुख यादवको भनाई छ । यसैगरी चाईनिज स्याउ (३४५.०७) टन र नासपाती (७७.३४) टन फलफूल केरुङबाट डाईभर्ट भई कोरलानाकाबाट नेपाल भित्रिएको कार्यालय प्रमुख यादवले उल्लेख गर्नुभयो । 

बाली संरक्षण अधिकृत एवं क्वारेन्टाई कार्यालयका प्रमुख यादवका अनुसार रसुवाको केरुङ नाकाबाट (डाइभर्ट) मार्ग परिवर्तन गरिएका फलफूलजन्य मालवस्तुहरुको कार्यालयद्वारा आवश्यक चेकजाँच गरी सहजीकरण गरिएको हो । कोरला स्थित क्वारेन्टाईन कार्यालयमा फलफूल परीक्षण गर्ने ल्याव आवश्यक पर्ने भएपनि तर सो स्थानमा पूर्वाधार नहुँदा तत्कालका लागि भौतिक रुपमा उपस्थिती भई हेर्ने र फूलफूलको परीक्षण घरेलु उपकरणको सहायताले परीक्षण गर्ने गरिएको प्रमुख यादवले जनाउँनुभयो । प्रमुख यादवले क्वारेन्टाईन कार्यालयका लागि सामान्य  माईक्रोस्कोप साथै लिएर आईएको भएपनि ठाउ नभएकाले उक्त उपकरण पनि प्रयोगमा ल्याउन नसकिएको बताउँनुभयो ।

यसअघि उत्तरतर्फको केरुङ नाका र तातोपानी नाका बन्द भएपछि भन्सार विभाग र व्यवसायीको समन्वयमा त्यहाँ रोकिएका फलफूल कन्टेनर कोरलानाकातर्फ मार्ग परिवर्तन गरिएको हो । फिर्ता आएका फलफूल पैठारीका लागि भन्सार विभागको समन्वयमा प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दुई साता अघिनै दुई जना वरिष्ठ बाली संरक्षण अधिकृतलाई लोमान्थाङस्थित क्वारेन्टाइन कार्यालयमा खटाएको थियो । 

केरुङ नाकाबाट फिर्ता पठाएका कन्टेनर पैठारीकर्ता, निकासीकर्ता, भन्सार एजेन्ट, तथा सरोकारवाला सबैले प्रक्रिया पु¥याउनुपर्ने उल्लेख गरिएको थियो । टिमुरे, रसुवा तथा तातोपानी नाका सिन्धुपाल्चोकका लागि निर्धारित कन्साइनमेन्टलाई वैकल्पिक नाकातर्फ पठाउनु अघि ‘विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४’ को पालना गर्नुपर्ने कानुनी प्रावधान छ । 

नियम तथा प्रचलित कानुन प्रवेश अनुमति, फाइटोस्यानिटरी शर्त तथा अन्य प्रक्रियाको पालना भए नभएको एकीन गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिईएको थियो ।




प्रतिक्रिया