आध्यात्मिक भक्ति यात्रा टोली तिलिचोतर्फ

समुन्द्री सतहको चार हजार ९१९ मिटरको उचाईमा अवस्थित विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताललाई   आध्यात्मिकधार्मिक पर्यटनसंग जोड्ने उद्देश्यले तिलिचो भक्ति यात्रा टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । श्री १०८ स्वामी ऋषि प्रपन्नचार्यको नेतृत्वमा तिलिचो भक्ति यात्रा टोली जोमसोम हुँदै त्यसतर्फ प्रस्थान गरेको हो ।

 टोलीमा प्रधाध्यापक डा. भानुभक्त आचार्य ,प्रधाध्यापक प्रकास रेग्मी र गुरुङ ईश्वर रेग्मीसहित करिव ५० जना भन्दा बढी तिलिचो भक्ति यात्रामा सहभागी छन् । तिलिचो ताललाई साहसिक पर्यटकीय स्थलको रुपमा नभई आध्यामिक धार्मिक  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तियात्रा टोली शुक्रबार मुस्ताङ आईपुगेको थियो ।

विश्वकै अग्लो उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तिलिचो ताल अवलोकनका लागि मनाङको खांसहार हुँदै साहसिक पदयात्रा गर्दै पर्यटक त्यहाँ पुग्छन् । तर ,पर्यटकीय स्थलको रुपमा मात्रै यात्रा गर्ने तिलिचो ताललाई धार्मिक पर्यटनसंग जोड्ने गरी भक्तियात्रा टोलीले प्रारम्भिक पहल गरेको हो । टोलीमा म्याग्दी,बाग्लुङ र पर्वत जिल्लाका धार्मिक भक्तजनहरुको सहभागीता छ ।

 तिलिचो ताललाई चीनको जस्तै मानसरोवरको रुपमा स्थापित गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने भक्ति यात्राको उद्देश्य रहेको  छ । तिलिचो भक्ति यात्रा टोलीले शुक्रबार जोमसोममा तिलिचो ताललाई धार्मिक पर्यटनसंग जोड्न सकिने सम्भावना र चुनौति लगायतका बिषयमा अन्तरक्रिया गरेको छ । यहाँको घरपझोङ गाउँपालिकाको समन्वयमा मुस्ताङ र तिलिचो तालको  आध्यात्मिकपर्यटन कनेक्टिभिटी लगायतका बिषयमा चर्चा गरिएको छ ।

 घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकाली,गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी,प्रशासन ,प्रहरी र पत्रकार लगायतको उपस्थितीमा तिलिचो भक्ति यात्रा २०८३ सम्वन्धी जानकारी दिईएको हो ।

 तिलिचो भक्ति यात्रा २०८३ बारे जानकारी दिदै श्री १०८ स्वामी ऋषि प्रपन्नचार्यले विश्वकै उच्चउचाईमा अवस्थित तिलिचो ताल पर्यटकी स्थल मात्रै नभई धार्मिक स्थलको रुपमा विकास गरिनुपर्ने बताउँनुभयो । काग भुसन्डे  र गरुडजी सम्वादमा श्रीराम चरित्र मानसको चर्चा भएको थलोको रुपमा तिलिचो ताललाई लिने गरिएको स्वामी प्रपन्नचार्यले उल्लेख गर्नुभयो । भगवान शिवजीले कैलाश पर्वत भन्दा पनि सुन्दर स्थानको रुपमा तिलिचो ताल रहेको भनी प्रशंसा गरिएको स्थान रहेको स्वामी प्रपन्चार्यको भनाई छ ।

 तिलिचो भक्ति यात्रा २०८३ मा सहभागी प्रध्यापक डा. भानुभक्त आचार्यले तिलिचो ताल पुगेपछि काम क्रोध,लोभ,माह आदी लगायतका दुर्गणहरु नष्ट हुने बताउँनुभयो ।तिलिचो ताल अवलोकन गर्ने उद्देश्यले पर्यटकहरु त्यहाँ पुग्ने भएपनि तिलिचो तालको धार्मिक महत्वको बारेमा थप प्रचार÷प्रसार गरी आध्यामिक पर्यटन विकासमा जोड्नु पर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

 विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको धार्मिक महिमा बारे धेरैजसो पर्यटकहरु अनविज्ञ रहेकाले त्यहाँको धार्मिक महत्वलाई थप उजागर गरी आध्यामिक केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको भक्ति यात्राका सहभागी  गुरु ईश्वर रेग्मीले उल्लेख गर्नुभयो । पौराणिक कालमा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेको धार्मिक किवंदन्तीहरुमा उल्लेख रहेको गुरु रेग्मीले बताउँनुभयो ।

 तिलिचो भक्ति यात्राका क्रममा मुस्ताङ आईपुगेका टोलीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले यात्रा सफलताको शुभकामना प्रकट गर्नुभएको छ । तिलिचो ताल पदयात्राका लागि सबैभन्दा छोटो दुरीमा सहजै तिलिचो तालको यात्रा गर्न सकिने अध्यक्ष लालचनले बताउँनुभयो । अधिकाँश पर्यटक मनाङ हुँदै तिलिचो ताल जाने भएकाले मुस्ताङबाट पनि सहज रुपमा तिलिचो ताल यात्रा गर्ने सकिने सन्देश प्रवाह गर्नुपर्ने आवश्यक रहेको बताउँनुभयो ।

 धार्मिक महत्वको विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालमा भक्ति यात्रा टोलीले करिव तीन घण्टा धार्मिक अनुष्ठान गर्ने जनाईएको छ । शुक्रबारदेखि सुरु भएको भक्ति यात्रा टोली आईतबार साँझ जोमसोम फर्किने कार्यतालिका रहेको प्रध्यापक प्रकाश रेग्मीले जानकारी दिनुभयो । टोलीले तिलिचो तालमा पुगेर स्वामी ऋषि प्रपन्नचार्यद्वारा  श्रीमद्धाल्मीकीय रामायण पाठ परायण, श्री हरिनाम संकीर्तन  र श्री सुदर्शन हवन एवं तीर्थ पुजन गर्नु हुने प्रधाध्यापक रेग्मीले जानकारी दिनुभयो ।

 मुस्ताङको सदरमुकाम जोमसोमबाट ठिनी हुँदै नमुखलेंक पुगेर मेसाकोन्दो पहाड चढेपछि तिलिचो ताल पुग्न सकिन्छ । गण्डकी प्रदेश सरकारले घरपझोङको ठिनी गाउँ हुँदै नमखुलेंक सम्म सडक जोडिएको छ । त्यहाँबाट पैदल ठाँडो उकालो उक्लिदै दुई दिनमा सहजै तिलिचो ताल पुगेर फर्किन सकिन्छ । उक्त पदमार्ग एक्यापले पर्यटक आश्रय स्थल समेत निर्माण गरिसकेकाले यात्रा सहज रहेको छ ।


प्रतिक्रिया