जोमसोम ।
समून्द्री सतहको ३८०० मिटरको अग्लो उचाईमा अवस्थित हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पर्यटकको रौनक अहिले पनि उस्तै छ । गर्मीयामको मौसममा धार्मिक भक्तजनको भीडले गुल्जार हुने यहाँको मुक्तिनाथ मन्दिरमा यसवर्षको हिउँदयाममा पनि दर्शनार्थीको रौनकमा कुनै कमी आएको छैन ।
अघिल्लो वर्षहरुमा हिउँदयाममा अत्यधिक चिसोका कारण सुनसान हुने मुक्तिनाथ मन्दिरमा पुस महिना लागेपछि दर्शनार्थी भक्तजनको सख्या घटेको छैन । यतिबेला मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेको छ । दिउँसोको समयमा घाम लाग्दा केही तातो महशुस गरिने भएपनि बिहान र बुलकीको समय यहाँको तापक्रम माईनसमा झर्ने गर्छ । उपल्लो मुस्ताङमा तापक्रम माईनस २० डिग्री पुग्छ भने तल्लो मुस्ताङमा तापक्रम माईनस १० डिग्री भन्दा माथि छ । अत्यधिक चिसोका कारण यहाँका स्थानीयको दैनिक जनजिवनमा समेत प्रतिकूल असर पु¥याएको छ ।
हिउँदयामको अत्यधिक चिसो र प्रतिकूल मौसमका बावजुद मुक्तिनाथ मन्दिर दर्शन गर्नेको संख्या आशिंक रुपम घटेपनि दर्शनार्थीहरुको रौनक नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । धार्मिक मोक्ष प्राप्तिका लागि उल्लेख्य संख्यामा यहाँ श्रद्धालु भक्तजनहरुको ओईरो लागिरहेको व्यवस्थापक भुसालले बताउँनुभयो ।
मुक्तिनाथ मन्दिरमा यतिबेला बिहान र बेलुकीको मौसमी तापक्रम माईनस १५ डिग्रीमा झरेको छ । यद्यपी यहाँ चिसोको कुनै परवाह नगरी धार्मिक आस्था र विश्वास लिएर मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन् । समितिका व्यवस्थापक भुसालले हिउँदयामको जाडो मौसममा समेत अहिले पनि दैनिक एक हजार पाँच सय भन्दा बढी दर्शनार्थी पर्यटक मुक्तिनाथ आईरहेको उहाँको भनाई छ ।
मुक्तिनाथमा हिउँदयामको मौसममा समेत दर्शनार्थीहरुको उपस्थितीले मुक्तिनाथ मन्दिर परिसर खचाखच भरिने गरेको छ । मुक्तिनाथको १०८ धारामा जलसेचन र स्नानकुण्डमा नुहाएर दर्शन गर्दा दर्शन कार्य पवित्र हुने र यसरी दर्शनकार्य गर्दा धार्मिक मनोकामना पुरा हुने र जान अन्जानमा भुलवस भएको अनिष्टहरुलाई पखाल्न जनविश्वासका कारण दर्शनार्थीहरु चिसोको कुनै मतलव नगरी स्नान गर्ने गरेका छन् ।
मुक्तिनाथको उच्च उचाईमा पुगेका कतिपय दर्शनार्थीहरुलाई अक्सिजन लेवक कम भई लेंक लाग्ने समस्या हुन्छ । यसैका कारण मुक्तिनाथ दर्शन गर्न आएकाहरुलाई चिसो स्वास्थ रक्षाका लागि मुक्तिनाथ विकास समितिले स्वास्थ्यकर्मी राखेर मन्दिर परिसरमै हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरको व्यवस्थापन गरेको समितिका व्यवस्थापक भुसालको भनाई छ । समितिले स्नान र दर्शन गरिसकेका भक्तजनहरुलाई चिसोबाट बच्नका लागि आगो ताप्न दाउँराको व्यवस्था गरेको बताउँनुभयो । उहाँका अनुसार मुक्तिनाथमा दर्शन गर्न आउनेका लागि चिसोबाट जोगिन मुक्तिनाथ विकास समितिले न्यानो कक्ष लगायतका भौतिक संरचना निर्माण गर्न पुरातत्व विभागमा प्रस्ताव पेश गरिसकेको व्यवस्थापक भुसालले बताउँनुभयो । उक्त प्रस्ताव स्वीकृत भएमा मुक्तिनाथमा चाँडै आधुनिक प्रविधियुक्त सुविधा सम्पन्न न्यानो कक्ष व्यवस्था गरिने लक्ष्य रहेको जनाउँनुभयो ।
विगतका वर्षमा हिउँदयाम समयमा मुक्तिनाग दर्शन गर्ने पर्यटकको संख्या न्यून हुँदा मुक्तिनाथका पर्यटन व्यवसायीहरु होटल बन्द गरी जाडो छल्न बेसी झरिसक्थे । यसवर्ष भने धार्मिक भक्तजनको रौनक नघटेका कारण त्यहाँका स्थानीय पर्यटन व्यवसायीहरु यथास्थानमा बसेर व्यापार व्यवसाय चलाईरहेका छन् ।
हुम्ला जिल्लाबाट मंगलबार मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक भक्तजन सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा अहोभाग्य महशुस भएको बताउँनुभयो । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अद्भूत रहेकाले यहाँका आएर दर्शन गर्न पाउँदा सम्पूर्ण दुखकष्ट सबै बिर्साउन बाध्य पारेको अनुभूती सुनाउँनुभयो ।‘ हुम्लाबाट हप्तौ लगाएर महंगो खर्च गरी मुक्तिनाथ दर्शन गर्न आईपुगे, मुक्तिनाथ दर्शन नगरी अन्य ठाउँको दर्शनले पूर्ण नहुँने मान्यता रहेछ,’ भक्तजन राउतले भन्नुभयो,‘ यहाँको सौन्दर्यता र हिमालको प्रतिविम्वहरु र मन्दिरको रौनकताले आफुलाई झनै प्रफुल्लित पारेको छ, यहाँको मन्दिरको व्यवस्थापन पनि निकै राम्रो रहेको पाए ।’
यसैगरी कर्णाली प्रदेशको जाजरकोटबाट मुक्तिनाथ दर्शन गर्न आउनु भएका देवबहादुर रोकायाले पनि मुक्तिनाथका दर्शन गर्न पाउँदा गौरान्वित भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । यहाँको धार्मिक तपोभूमीमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आईपुगेको बताउँनुभयो । मुक्तिनाथका दर्शन गर्नाले पुण्य मिल्ने भएकाले हिउँदयामको चिसो थेग्दै मुक्तिनाथको दर्शन पुरा गरेको बताउँनुभयो ।
हिउँदयाममा सुनसान जस्तै हुने यहाँको मुक्तिनाथ मन्दिर धार्मिक भक्तजनको आगमनले गुल्जार हुँदा यहाँका पर्यटन व्यवसायी, घोडा र डोली बोक्ने व्यवसायीहरु उत्साहित भएका छन् । मुक्तिनाथमा दर्शन गर्न जाने भक्तजनहरु कतिपय पैदल हिडेर मुक्तिनाथ पुग्छन भने कतिपय पर्यटक घोडा चढेर वा डोलीमा चढेर मुक्तिनाथको दर्शन गर्न पुग्छन् ।
हिउँदयामको चिसो मौसममा समेत मुक्तिनाथ दर्शन गर्न आउने भक्तजन मध्ये दुई तिहाईको संख्यामा भारतीय पर्यटकहरुको उपस्थिती हुने गरेको छ । छिमेकी देश भारतबाट दर्शन गर्न मुक्तिनाथ मन्दिर आउनु भएका भारतीय दर्शनार्थी प्रियङ्का र श्रद्धा लगायतको टोली माईनस डिग्री तापक्रममा समेत स्नानकुण्डमा नुहाएर मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने धोको पुरा गरे ।
यहाँको उच्च उचाईको स्थानमा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पाउँदा खुसीको अनुभव भएको बताउँनुभयो । नेपाल र भारतका नागरिकहरुमा आफुहरुका लागि कुनै नजिक टाढा नभएको सुनाउँदै यहाँको हिमाल र पृथक प्रकारको अग्ला पहाडको खोंचमा मन्दिरको दर्शन गर्न पाउँदा आफुहरुका लागि अहोभाग्य भएको बताउँनुभयो ।
हिउँदयामको चिसो बढेपनि मुक्तिनाथ क्षेत्रमा धार्मिक तिर्थालुहरुको आगमनले गुल्जार हुँदा सयौं भक्तजन सवार सवारी साधन मुक्तिनाथ रानीपौवा बसपार्कको पार्किङ स्थल भरिभराउ जस्तै हुँने गरेको छ । पछिल्लो समय नेपाल—चिन जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा धार्मिक पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको छ । चिसो याममा समेत पर्यटकको संख्या नघटेका कारण मुक्तिनाथ देखि तल राजमार्ग सडकका होटलहरुमा धार्मिक पर्यटकहरुको उपस्थतीले पर्यटन व्यवसायीका राहत पुगेको जनाईएको छ ।
कुनै बेला बर्खायामको मौसममा मात्र पर्यटक चहलपहल हुने मुस्ताङमा पछिल्लो समय बेमौसममा समेत पर्यटकहरु आउन थालेपछि मुस्ताङको पर्यटन बाह्रै महिना चलायमान हुने आंकलन गरिएको छ ।
यहाँ स्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मशान्तसम्म आन्तरिक र बाह्य पर्यटक गरी दुई लाख ५१ हजार ४०१ जना पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । प्रहरी कार्यालयका अनुसार चालु वर्षको पाँच महिना अवधिमा दुई लाख ३ हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली