चालु आव २०८२÷०८३ को एघार महिना अवधिमा सात लाख ५ हजार ७५४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि जेठ महिनासम्म उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चेक पोस्टमा प्रविष्ट तथ्यांक अनुसार साउनदेखि जेठ महिनासम्म स्वदेशी आन्तरिक पर्यटक चार लाख ६० हजार ९२४ जना र बाह्य विदेशी पर्यटक दुई लाख ४४ हजार ८३० जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्षको एघार महिनामा मुस्ताङ भित्रिएका पर्यटक मध्ये ६५ दशमलव ३० प्रतिशत आन्तरिक र ३४ दशमलव ७० प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
चालु आर्थिक वर्षको एघार महिनामा दुई लाख ४४ हजार ८३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिदा सबैभन्दा बढी जेठ महिनामा मात्रै नब्बे हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । चालु वर्षमा सबै भन्दा कम मंसिर महिनामा ६ हजार६७९ जना पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
चालु वर्षको बैशाख महिनामा सबैभन्दा बढी छत्तिस हजार २६२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा त्यो संख्या अकल्पनीय रुपमा बढेर नब्बे हजार बढी पुगेको हो । योसंख्य अघिल्लो महिनाको तुलनामा ३९ दशमलव ८७ प्रतिशत वृद्धि भएको प्रहरी निरीक्षक सन्तोष बस्यालले उल्लेख गर्नुभयो ।
मुस्ताङमा चालु वर्षको एघार महिना अवधिमा सात लाख बढी पर्यटक भित्रिदा एक लाख ५९ हजार १६० भन्दा बढी यात्रुवाहक सवारी साधन बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । चालु वर्षको हिउँदयामको समाप्तिपछि जेठ महिनामा भारतीय पर्यटक उल्लेख्य संख्यामा मुस्ताङ भित्रिएका हुन् । छिमेकी देश भारतमा ६४ डिग्री गर्मीका कारण भारतीय पर्यटक गर्मी छल्ने गरी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो । बैशाख र जेठ महिनामा मुक्तिनाथ दर्शन गर्नेमा ९० प्रतिशत भारतीय दर्शनार्थी पर्यटक रहेको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
यसअघि आव २०८०÷०८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१÷०८२ मा सात लाख ५ हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । गत आवको तुलनामा चालु आवको एघार महिनामा जम्मा २५ जना मात्रै पर्यटक कम भित्रिएका हुन । चालु वर्ष सकिन थप एक महिना बाँकी रहेकाले गतवर्ष पर्यटकीय संख्या वृद्धि हुने देखिएको छ ।
चालु आव २०८२÷०८३ अन्तर्गत गत भदौ २३ र २४ गते युवाहरुको जेनजी आन्दोलनको प्रभावका कारण उक्त समय मुस्ताङमा कम संख्यामा पर्यटक भित्रिएका थिए । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटक आगमनसंख्या बढ्दै जान थालेको हो । पछिल्लो दुई आवमा मुस्ताङमा पर्यटकको आगमन अकल्पनीय रुपमा वृद्धि भएको प्रहरी तथ्यांकले देखाउँछ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ८० प्रतिशत बढी भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको पाईएको छ । मुस्ताङ भित्रिएका भारतीय पर्यटक मध्ये अधिकाँश भारतीय पर्यटक मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन भने आशिंक भारतीय पर्यटक मात्रै उपल्लो मुस्ताङ जाने गरेका छन् । यसैगरी अन्य फरेनर तेस्रो मुलुकका पर्यटक र नेपाली पर्यटकहरु भने उपल्लो मुस्ताङ उक्लिने गरेका छन् ।
पछिल्लो समय नेपाल—चीन उत्तरी कोरलानाका अवलोकन गर्न नेपाली पर्यटकहरु मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेका छन् । विदेशी पर्यटकहरुका लागि नेपाल सरकार अध्यागमन विभागले प्रति विदेशी पर्यटक प्रतिदिन ५० डलर प्रवेशआज्ञा अनुमति शुल्क बुझाउनु पर्ने प्रावधान छ । यसै नियमका कारण मुस्ताङ भित्रिएका पर्यटक उपल्लो मुस्ताङ नगई मुक्तिनाथबाटै फर्किने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली