थासाङमा ६ गाउँ जोड्ने रिङरोड सडक सकियो

यहाँको थासाङ गाउँपालिकामा निर्माणधीन रिङरोड सडक सम्पन्न भएको छ ।  थासाङ गाउँपालिका स्थित कालिगण्डकी नदी पारी सडक संञ्जालन नहुँदा वर्षौवर्षदेखि ओझेलमा पर्दैआईरहेका ४ वटा वडाहरुमा कालोपत्र सडक निर्माण सम्पन्न भएसंगै त्यहाँका स्थानीय नागरिकहरुका लागि निकै ठुलो सहयोग पुगेको छ ।

संघीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले  वि.स. २०७७ साल पुस ७ गते ‘एक निर्वाचन क्षेत्र ,एक रणनीतिक महत्वको सडक’योजना कार्यान्वयमा ल्याएको थियो । सम्झौता अवधि तीन वर्ष तोकिएको थासाङ स्थित कालिगण्डकी नदी पारीका विकट गाउँहरु जोड्ने कालापत्र रिङरोड सडक निर्माणका लागि  ३८ करोड ८८ लाख लागतमा महालक्ष्मी हिमाली जेभी कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो ।

 सडक डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको चार वडाहरु जोड्ने रिङरोड सडक बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । विस २०८० साल पुस ६ गते सम्पन्न भईसक्नु पर्ने थासाङ रिङरोड सडक बजेट अभाव हुँदा म्याद थपभई चालुवर्षको असार ३० सम्म कायम गरिएको थियो ।

थासाङ गाउँपालिकाको लेते,छयो,कुज्जो,टिटी, धम्पु हुँदै कोखेठाँटीसम्मको सडकमा डिबीएसडी प्रविधिको कालोपत्र सडक निर्माण सम्पन्न भएको ईन्जिनीयर भण्डारीले उल्लेख गर्नुभयो । थासाङ स्थित चार वडा वडाका गाउँहरु जोड्ने रणनीतिक महत्वको रिङरोड सडकका लागि ८ दशमलव ५ मिटर चौडा हुँने गरी १० किलोमिटर सडकमा कालोपत्र गरिएको ईन्जिनीयर भण्डारीले उल्लेख गर्नुभयो ।

 रिङरोड सडक अन्तर्गत छयोदेखि कोखेठाँटी सम्मको दुरीमा सडक स्तरोन्नति गरी कालोपत्र गरिएको हो । सडकको सम्पूर्ण काम  सम्पन्न भई रोड मार्किङ र ट्राफिक साईन पोष्टिङ लगायतका कार्यहरु सकिएका छन् । डिभिजन सडक कार्यालयका ईन्जिनीयर सागर भण्डारीका अनुसार निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तनी हुन बाँकी रहेकाले सडक हस्तान्तरण हुन केही ढिलाई भईरहेको छ । ईन्जिनीयर भण्डारीले एक साता भित्र निर्माण कम्पनीबाट कार्यालयलाई सडक हस्तान्तरण भईसक्ने जानकारी दिनुभयो ।

 थासाङ गाउँपालिका स्थित (बेनी—जोमसोम) मुख्य राजमार्ग सडकलाई जोड्ने गरी रणनीतिक महत्वको सडक निर्माण सम्पन्न भएको हो । सडक निर्माणकार्य सम्पन्न भएसंगै थासाङ गाउँपालिका स्थित कालिगण्डकी नदी पारीका आझेलमा परेका गाउँहरुमा खुसीयाली छाएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले जानकारी दिनुभयो  । उपाध्यक्ष हिराचनले कालीगण्डकी पारीका चार वडाहरुलाई जोड्ने रिङरोड सडक सम्पन्न भएको र प्रदेश सरकारबाट कार्यान्वयनमा आएको कालिगण्डकी नदीमा निर्माणधीन लेते—छयो र लेते—धम्पु जोड्ने पुल सम्पन्न भएमा  थासाङका सबै गाउँहरु सडक कनेक्टिभिटीले जोडिने उल्लेख गर्नुभयो ।

 कालिगण्डकी पारीका गाउँहरुमा सडक नहुँदा वर्षौवर्षदेखि ओझेलमा परिरहेको अवस्थामा रिङरोड सडक निर्माणले त्यसक्षेत्रका कृषि उपजहरु सहज बजारिकरण गर्नमा सहज हुने थासाङ—२ सिर्खुङमा स्थानीय नविन शेरचनले जानकारी दिनुभयो । सडक निर्माणले थासाङमा ओझेलमा परेका गाउँहरुको पर्यटन विकासमा समेत टेवा पुग्ने शेरचनको भनाई छ । 

 थासाङको पर्यटकीय गन्तब्य टिटी ताल हुँदै रिङरोड सडक विस्तार भएकाले यसक्षेत्रको पर्यटनको ढोका उघ्रिएको स्थानीय शेरचनले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया