कोरलानाका जोड्ने सडकको भौतिक प्रगति ८० प्रतिशत ,

कोरलानाका जोड्ने सडकको भौतिक प्रगति ८० प्रतिशत ,

सुन्दरकुमार थकाली

जोमसोम—उत्तर÷दक्षिण ब्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी गण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । आयोजनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ को असार अन्तिमसम्ममा कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७५ प्रतिशत पुगेको जनाईएको छ ।

राष्ट्रिय गौरवको कोरला सडक आयोजना २०७३ साल मंसिर ८ गते सुरु भई निर्माणकार्य अघि बढाईएको थियो । पर्वतको मालढुंगादेखि म्याग्दी हुदै मुस्ताङको उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक स्तरोन्नति तथा पुलपुलेसा निर्माणका लागि कुल १० अर्ब बजेट विनियोजन गरिएको थियो । आयोजना सुरुवातीदेखि गत आर्थिक वर्षको असारसम्ममा ७ अर्ब बजेटको ठेक्का लगाईसकेको छ ।

 नेपालको दक्षिणी भु—भागलाई उत्तरी भुभागसंग हरेक मौसममा सवारी साधन चल्ने सडक सञ्जालबाट जोड्ने  र सडक संञ्जालकै माध्यमबाट नेपाल चीन कोरलानाका संञ्चालनमा ल्याउने गरी राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाको परिकल्पना गरिएको हो । आयोजना प्रमुख धुव्र झाका अनुसार राष्ट्रिय गौरव २०२ किलोमिटर सडक निर्माणकार्य आर्थिक वर्ष २०७९÷०८० सम्ममा सम्पन्न गर्ने प्रक्षेपण गरिएको भएपनि सडक निर्माणमा देखिएका विभिन्न समस्या र प्राकृतिक विपद् लगायतका चुनौती रहेकाले आयोजनाको संशोधित सम्पन्न अवधि थप भएको बताए । उनले पछिल्लो आकंलन अनुसार आर्थिक वर्ष २०८२÷०८३ सम्ममा आयोजनाको काम सम्पन्न हुने उल्लेख गरे ।

 त्यसो त कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले विनियोजित वार्षिक बजेट अनुसार ९० प्रतिशत वित्तिय र ९९ प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल भएको हो । आयोजनाद्वारा निर्माण कम्पनीलाई जरिवाना लगाउने ,अल्टिमेटम दिने ,कालोसूचिमा राख्ने र निर्माण कम्पनीलाई काममा फर्किने पटकपटक ताकेता गरेकै कारण गतवर्ष आयोजनाको कामले गति लिएको थियो  ।

 कोरला सडकखण्ड अन्तर्गत मालढुंगादेखि कोरलासम्मको २०२ किलोमिटर दुरी मध्ये १०५ किलोमिटर कालोपत्रे र ९७ किलोमिटर ग्राभेल सडकको ठेक्का व्यवस्थापन गरिएको थियो । जसमध्ये आयोजना अन्तर्गत हालसम्म १०५ किमी कालोपत्रे सडक पुरा गर्नुपर्नेमा ४८ किलोटिमर अर्थात ४५ दशमलव ७१ प्रतिशत कालोपत्रे सम्पन्न गरेको छ ।यस्तै,  कोरलासडक अन्तर्गत ९७ किमी सडकमा  ग्राभेल गर्नुपर्नेमा  ७७ किलोमिटर सडकमा ग्रोभल पुरा भईसकेको छ । ग्राभेल सडक अन्तर्गत चराङ—छोसेर २५ किलोमिटर सडकको ग्राभेल सडक निर्माण पुरा हुन सकेको छैन ।  यहाँ निर्माण कम्पनीको चरम ढिलासुस्ती  तथा प्रतिकुल मौसमका कारण चराङ—छोसेर ग्राभेल सडक सम्पन्न हुनमा ढिलाई भएको आयोजना प्रमुख धुव्र झाले उल्लेख गरे ।

 कोरलानाका जोड्ने राष्ट्रिय गौरवको सडक अन्तर्गत मालुढंगा—कोरला सडकको २०२ किमी दुरीमा कुल २४ वटा पुलको आवश्यक पर्ने भएपनि हालसम्म १९ वटा पुलको ठेक्का व्यवथापन भएको जनाईएको छ । जसमध्ये ११ वटा पुल सम्पन्न भईसकेका छन् । ४ वटा पुल निर्माणधिन छन् भने ४ वटा पुलको ठेक्का आयोजनाले ताडेको छ । यसैगरी आयोजनाले थप ५ वटा पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भईरहेको बताएको छ ।

कालोपत्रे स्तरसम्मकोस्तरोन्नति कार्यको लागि आयोजनाबाट मालढुंगादेखि मुस्ताङको कागबेनीसम्म ८ वटा ठेक्का मार्फत निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा ३ वटा निर्माण कम्पनीले निर्माणकार्य सम्पन्न गरेको आयोजना प्रमुख धुव्र झाको भनाई छ । उनका अनुसार मालढुंगा कागबेनी ८ ठेक्का मध्ये ५ वटा निर्माणधिन अवस्था रहेको छ । यस सडकमा पर्ने केही खोलाहरुमा शाखा पुलबाट ठेक्का भई पुल सेक्टर पोखराले पुल निर्माणकार्य गर्दैआईरहेको र केही पुलहरुको निर्माणकार्य सम्पन्न गरिसकेको उनले बताए । यद्यपी केही खोलाहरुमा पुल निर्माणका लागि पुल डिजाईनको काम भईरहेको उनले जनाए ।

 उत्तर÷दक्षिण जोड्ने कोरला सडक अन्तर्गत १९ वठा पुलको ठेक्का व्यवस्थापन मध्ये रघुगंगा,घट्टे खोला,लेते,छाक्ताङ, स्याङ,पान्डा खोला,छुसाङ,लोमान्थाङ,किमलिङ,नाम्डोक र भर्मा खोला पुल निर्माण सम्पन्न भईसकेको छ । यस्तै,सेतो खोला,मार्फा खोला,कागबेनी, घमी र चराङ खोला पुल निर्माणधिन अवस्थामा छन् । छुसाङ खोला पुल भदौमा सम्पन्न भएको हो ।

मार्फा र चराङ खोला पुल निर्माणको अन्तिम चरणमा छन् । आयोजनाले ३ वटा अस्थायी बेलिब्रिजको ठेक्का लगाएकोमा ३ वटै बेलिब्रिज निर्माण सम्पन्न गरिसकेको जनाएको छ । आयोजनाले बेनी ,तातोपानी र रुप्सेमा बेलिब्रिज निर्माण गरेको हो ।


प्रतिक्रिया