जोमसोम— मुस्ताङमा छाडा कुकुर आतंकले स्थानीय नागरिकहरुलाई दुःख र सास्ती दिने गरेको छ । कुकुर आतंक बढेसंगै मुस्ताङमा घरपालुवा तथा सामुदायिक छाडा कुकुर नियन्त्रण अभियान थालिएको हो ।
जिल्लाका ५ वटै स्थानीय तहमा कार्यान्वयन गर्ने गरी मगलबार उपल्लो मुस्ताङको लोमान्थाङबाट छाडा कुकुरहरुलाई रेबिज विरुद्ध खोप तथा बन्ध्याकरण गर्ने अभियान प्रारम्भ गरिएको हो । जिल्ला स्तरीय रुपमा सञ्चालन हुने घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान अन्गर्तत लोमान्थाङबाट सुरु भई लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पुगेर सकिने छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र जिल्लाका ५ वटै स्थानीय तहको आयोजनामा जिल्ला स्तरीय रुपमा अनाधिकृत छाडा कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो । जिल्ला स्तरीय रुपमा छाडा कुकुर नियन्त्रण अभियानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत २ जना बन्यजन्तु प्राविधिक, केन्द्रिय रेफरल पशु चिकित्सालयका प्राविधिक टोली र भेटेरिनरी अस्पतालको पशु चिकित्सक लगायत १५ जनाको टोलीले घर पालुवा तथा सामुदायिक छाडा कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको खोप तथा बन्ध्याकरण गर्नेकार्य सुरु गरिएको हो ।
जिल्ला स्तरीय घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियानका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी ,वडा कार्यालय र स्थानीय समुदायले सहकार्य गरेका छन् । अनाधिकृत छाडा कुकुर तथा घरमा पालिएका कुकुरहरुबाट हुनसक्ने जोखिम तथा क्षति न्यूनिकरण गर्ने उद्देश्यले मुस्ताङमा जिल्ला स्तरीय रुपमा घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान सुरु गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । ‘कुकुरको नियन्त्रण गरी रेबिज बिरुद्धको खोप दिने र कुकुरको प्रजनन न्यूनिकरण गर्न लोमान्थाङबाट अभियान थालनी भएको छ, कार्यालय प्रमुख पौडेलले भने,‘ खोप लगाएपछि रोग नफैलियोस र बन्ध्याकरण गरेपछि कुकुरको संख्या वृद्धि नहोस भन्नेनै हो , यसले कुकुरबाट हुने क्षति र कुकुरको सख्या नियन्त्रण हुनेछ ।’
लोमान्थाङबाट सुरु भएको छाडा कुकुर नियन्त्रण अभियानमा सम्वन्धित घरपालुवा कुकुर धनीको अनुमति र अनाधिकृत छाडा कुकुरलाई प्रविधिको प्रयोग गरी नियन्त्रणमा लिईएको थियो । सरोकारवालाहरु सम्मिलित टोलीले समात्न नसक्ने कुकुरलाई पासो थापेर र भाग्ने खालका छाडा कुकुरहरुलाई ड्राग गन प्रयोग गरी कुुकुरलाई नियन्त्रणमा लिईएको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार नियन्त्रणमा लिईएका कुकुरहरुलाई लठ्याउने सुई प्रयोग गरेर रेबिज बिरुद्धको खोप लगाईनुको साथै प्रजनन क्षमता भएका कुकुरलाई बन्ध्याकरण गराईएको हो ।
यसअघि गतवर्षको पुसमा यसप्रकारको छाडा कुकुर नियन्त्रणका लागि मुस्ताङको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३ दिने कुकुर नियन्त्रण अभियान सञ्चालन गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र केन्द्रिय रेफरलका पशु चिकित्सकसहितको टोलीले घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा गरी १६१ वटा छाडा कुुकुरलाई रेबिज बिरुद्धको खोपसंगै बन्ध्याकरण गरिएको थियो ।
मुस्ताङमा अनाधिकृत छाडा कुकुरहरुको आतंकले तल्लो मुस्ताङ भन्दा उपल्लो मुस्ताङका नागरिकहरु बढी प्रदाडित भएको पाईएको छ । अनाधिकृत छाडा कुकुर र जंगली कुकुरहरुको समुहरुले स्थानीय कृषकले पालेका घरपालुुवा भेडाच्यांग्रा,घोडा,खच्चड र याकचौरी माथि आक्रमण गरी क्षति तुल्याउने गरेको एक्याप लोमान्थाङका प्रमुख पौडेलको भनाई छ ।
त्यसो त मुस्ताङका विभिन्न गाउँहरुमा छाडा कुकुरहरुको आतंकबाट स्थानीय नागरिक तथा पर्यटकहरुलाई समेत आक्रमण गरी दुःख दिने गरेको पाईएको छ । घरमा पालिएका कुकुरहरु वेवारिसे हुने र अन्य छाडा अनाधिकृत कुकुरहरुको झुण्ड झुण्ड समुहले कृषकको घरपालुवा पशुधनका क्षति पू¥याउने गरेको छ ।
मुस्ताङका पशुपालकलाई एकातीर बन्यजन्तुको जोखिम कायम छ भने अर्कोतर्फ अनाधिकृत छाडा कुकुरको जोखिम कायम छ । एक्याप लोमान्थाङले उपल्लो मुस्ताङमा वन्यजन्तुहरुबाट हुने जोखिम तथा क्षति न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैआईरहेको छ ।
२७ कार्तिक २०८१, मङ्गलबार ०८:२४ मा प्रकाशित
748