गृह मन्त्री लेखक बुधबार कोरलानाका जाने



जोमसोम—गृह मन्त्री रमेश लेखक बुधबार मुस्ताङ आउने भएका छन् । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाका स्थित नवनिर्मित  अध्यागमन (ईमिग्रेसन) भवन तथा लोमान्थाङ—१ छोसेर स्थित नवनिर्मित सशस्त्र बोर्डर आउटपोस्ट (बीओपी) भवन उद्घाटन गर्न गृह मन्त्री लेखकसहित उच्च सुरक्षा अधिकारीको टोली मुस्ताङ आउने तयारी भईरहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

 कोरलानाकामा प्रदेश सरकारले गतवर्ष ५० लाख लागमा ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो । यस्तै संघीय सरकार अन्तर्गत कोरलानाका यता लोमान्थाङ—१ छोसेर नेचुङमा सशस्त्र प्रहरीको  २ तले ५५ कोठा क्षमताको भवन निर्माण भएको थियो । विगत २ वर्षअघिनै सम्पन्न भएको भवन विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन ।

 भारतीय नाकाबन्दीपछि लोमान्थाङ—१ नेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी,नेपाल प्रहरीलाई १३ रोपनी,अध्यागमन कार्यालयलाई १२ रोपनी र भन्सारलाई १०९ रोपनी जग्गा उपलब्ध गराईएको थियो । यस्तै, सोही बेला नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा २७१ रोपनी जग्गा उपलब्ध भएको थियो । नेपाली सेनाले थुर्लुङ फाँटमा पूर्वाधार निर्माण गरी सैनिक क्याम्प बसिसकेको छ । सशस्त्र प्रहरीलाई प्राप्त ३३ रोपनी जग्गामा बीओपी भवन सम्पन्न गरी उद्घाटन गर्ने तयारी गरिएको हो ।

 त्यसो त नाकाको १० गजा क्षेत्रको दाँयाबाँया भन्सार,एकिकृत सुरक्षापोस्ट,अध्यागन ,सुख्खा बन्दरगाह, क्वारेन्टाई आदी बनाउन १ हजार रोपनी जग्गा नेपाल सरकारको नाममा लालपुर्जा बनिसकेको छ । नाकामा पूर्वाधार निर्माण गर्न १ करोड रुपैया डीपीआरका लागि विनियोजन भई काम अघि बढिसकेको छ ।  

 लोमान्थाङ छोसेर स्थित नेचुङमा भन्सार कार्यालयको क्वारेन्टाईन भवनमा सिमा सुरक्षा तथा सिमाक्षेत्रमा हुनसक्ने अवान्छित गतिविधिलाई नियमन गर्न तथा स्थानीय नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई व्यवस्थापन गर्ने गरी  २०७७ साल जेठमा सशस्त्र प्रहरी बार्डर आउट पोस्ट स्थापन गरिएको थियो । छोसेर स्थित नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का लागि एक जना प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको दरबन्दी सृजना गरिएको छ । अहिले त्यहाँको बीओपीमा ३४ जना सुरक्षाकर्मी रहेको जनाईएको छ ।

 नाकामा अध्यागमन कार्यालय भवन उद्घाटन तथा स्थापनाको तयारी गरिएको प्रजिअ बिष्णुप्रसाद भुषालले जानकारी दिए । नाकामा अध्यागमन (ईमिग्रेसन) कार्यालय स्थापना भएपछि कोरलानाकाबाट आयात तथा निर्यात हुने खाद्यान्न,पेय पदार्थ र तथा पशुपन्छी जन्य सामाग्री आयातका लागि क्वारेन्टाईन स्थापना गर्न मार्ग खुल्ने बताईएको छ ।

 ाकोरलानाका गतवर्षको कार्तिक २७ गते उपल्लो मुस्ताङको २ गाउँपालिकाका लागि खुल्ला गरिएको थियो । नाकामा गतवर्षको ८ महिनामा ८ लाख भन्सार राजश्व संकलन भएको थियो । चालु वर्ष को असोज मसान्तसम्म १ लाख १० हजार मात्रै भन्सार राजश्व संकलन भएको भन्सार कार्यालयका  प्रमुख नारायण पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया